काठमाडौं । सुदूरपश्चिम प्रदेश भ्रमणका क्रममा बैतडीमा अचानक बिरामी परेका भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई थप उपचारका लागि आज नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको छ।
जिल्ला भ्रमणको सिलसिलामा बैतडी पुगेका मन्त्री लम्साललाई ज्वरो आउनुका साथै स्वास्थ्यमा समस्या देखिएपछि उद्धार गरी पहिले धनगढी विमानस्थल पुर्याइएको थियो। काठमाडौं उड्नुअघि धनगढी विमानस्थलमै नेपाली सेनाको चिकित्सक टोलीले उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेको थियो। त्यसपछि उनलाई तत्काल सेनाको स्काई ट्रकमार्फत संघीय राजधानी काठमाडौं पठाइएको हो।
यसैबीच, सामान्य ज्वरो आउँदा समेत सरकारी स्रोत र सेनाको जहाज प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको छ। सर्वसाधारण नागरिकले दुर्गममा सामान्य उपचार र एम्बुलेन्स समेत नपाइरहेको अवस्थामा मन्त्रीलाई ज्वरो आउनेबित्तिकै राज्यको स्रोतसाधन प्रयोग गरी उद्धार गरिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विरोध जनाइरहेका छन्।