विद्यालयमा देखिएका समस्याहरू बारे कुरा गर्दै आन्दोलनरत पक्षले लामो समयदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत चयन नभएको बताएका छन्। नेतृत्वविहीनता र शिक्षकको अभावका कारण विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिको अवस्था दयनीय बन्दै गएको उनीहरूको गुनासो छ। महत्वपूर्ण विषयका शिक्षकहरू नहुँदा विद्यार्थीहरूको भविष्य अन्धकार बन्ने खतरा बढेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको स्थानीय युवाहरूको भनाइ छ।
यसअघि पनि पटक-पटक विद्यालय प्रशासन र स्थानीय सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएकोले अब तत्काल माग पूरा नभए आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने उनीहरूले चेतावनी दिएका छन्। यस गम्भीर समस्याप्रति पञ्चदेवल विनायक नगरपालिकाको शिक्षा शाखा र सम्बन्धित निकायको तत्काल ध्यान पुग्न जरुरी रहेको स्थानीय अभिभावकहरूले बताएका छन्।