अकाठमाडौं — संयुक्त राष्ट्रसंघको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएका विश्वका नेताहरूको सम्बोधनमध्ये नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) को भिडियो सबैभन्दा धेरै हेरिएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (UNGA 81) अन्तर्गत न्यूयोर्कमा प्रधानमन्त्री शाहले गर्नुभएको सम्बोधनको भिडियोले ५ लाख भन्दा बढी भ्यूज पाएको हो। UN को आधिकारिक च्यानलमा राखिएका अन्य राष्ट्राध्यक्ष / सरकार प्रमुखका भिडियोहरूको तुलनामा यो संख्या अहिलेसम्मकै उच्च हो।
गत २४ सेप्टेम्बर २०२६ मा UN मुख्यालयमा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो। सम्बोधनमा उहाँले —
भोटेकोशी-त्रिशूली विपत्ति केवल स्थानीय त्रासदी नभएर विश्वका लागि गम्भीर चेतावनी भएको
जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो जोखिम
जलवायु न्याय र नेपालको प्राथमिकता
जस्ता विषयलाई प्रमुखताका साथ उठाउनुभएको थियो।
सम्बोधनको अन्त्यमा उहाँले नेपालीमा "भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्। यो विश्व बुद्धले देखाएको बाटोमा हिड्न सकोस्" भन्दै समापन गर्नुभएको भिडियो क्लिप पनि सामाजिक सञ्जालमा भाइरल भएको छ।
विश्व मञ्चमा पहिलो पटक सम्बोधन गरेका प्रधानमन्त्री बालेन शाहको भाषण शैली, प्रस्तुति र उठाएका एजेन्डाले अन्तर्राष्ट्रिय समुदायको मात्र होइन, नेपाली युवापुस्ताको पनि ध्यान तानेको देखिन्छ। UN Web TV को स्रोतलाई आधार मानेर विभिन्न समाचार च्यानलहरूले नेपाली अनुवादसहित उक्त सम्बोधन प्रसारण गरेका थिए।
विश्लेषकहरूका अनुसार, UNGA जस्तो विश्वकै महत्वपूर्ण मञ्चमा नेपाल जस्तो सानो राष्ट्रको प्रधानमन्त्रीको भिडियोले सर्वाधिक भ्यूज पाउनुले नेपालको जलवायु एजेन्डाप्रति विश्वको चासो बढेको संकेत गर्छ।