कञ्चनपुर - सुदूरपश्चिमको पहिचान मानिएको चर्चित दोधारा चाँदनी झोलुङ्गे पुलको एउटा पिल्लर आज बिहान अचानक नदिमा खसेको छ।
महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा-चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग भत्काएको छ। बिहान करिब ८ बजे नदीको बीच भागमा रहेको पुलको एउटा पिल्लर भत्किएपछि पुलको संरचना नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।
के भयो?
प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौँ नम्बर र दोधारा-चाँदनीतर्फबाट तेस्रो नम्बरको पिल्लर/भाग भत्किएको हो।
स्थानीयका अनुसार बिहान ४-५ बजेतिर नै पुलको दोधारा तर्फको ५-६ मिटर बीचको भाग अस्वाभाविक रूपमा माथी उठेको देखिएको थियो। स्थानीयले प्रहरीलाई खबर गरेपनि करिब ८ बजे त्यो उठेको भागसहित पिल्लर नै भत्किएर नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक रावतले पिल्लर भत्किँदा पुल चुँडिएको बताएका छन्। प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली घटनास्थलतर्फ गएको छ।
कति महत्वपूर्ण थियो यो पुल?
२०६१ सालमा निर्माण सम्पन्न भएको यो पुलको लम्बाइ १,४५२.९६ मिटर छ।
यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुल मानिन्छ।
दोधारा-चाँदनीका बासिन्दाका लागि लामो समयदेखि आवागमनको महत्वपूर्ण माध्यम रहँदै आएको थियो।
अहिलेको अवस्था
पुलको बीच भाग भत्किएपछि दोधारा-चाँदनी र भीमदत्तनगरबीचको पैदल तथा स्थानीय आवागमन ठप्प भएको छ। अब यात्रुले करिब दुई किलोमिटर माथि पुगेर पक्की पुलमार्फत आवतजावत गर्नुपर्ने अवस्था आएको छ। यद्यपि महाकालीमा पक्की पुल पनि निर्माण भइसकेकाले विगतमा भन्दा पक्की पुलबाट नै धेरै आवतजावत हुने गरेको थियो।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले पुलमा पुगेको क्षतिको अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी भइरहेको जनाएको छ। निर्देशक जगतप्रसाद जोशीका अनुसार नटबोल्ट लगायतका प्राविधिक कारणले स्पान खसेको पुष्टि भएमा तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने सम्भावना छ।
नोट: यो पुल वर्षौँअघि निर्माण भएको र जीर्ण बन्दै गएको स्थानीयको भनाइ छ। बाढीको कारण पिल्लर बगाएको प्रारम्भिक अनुमान भएपनि प्राविधिक टोलीको अध्ययनपछि मात्रै क्षतिको यकिन विवरण खुल्नेछ।