काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारको सुशासनमाथि गम्भीर प्रश्न उठाएका छन्।
उनले आज सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेको तस्बिर सेयर गर्दै सरकार ठूला माछा समात्ने प्रकरणमा एकपछि अर्को गरी पछि हट्नुपरेको स्थिति आउनु विडम्बनापूर्ण भएको बताएका हुन्।
भट्टराईले आफ्नो पोस्टमा लेखेका छन्, "सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणहरूमा एक पछि अर्को गरी पछि हट्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ!"
उनले लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्ने कुरामा जोड दिँदै हाम्रो न्यायिक प्रणालीमाथि नै प्रश्न उठाएका छन्।
भट्टराईले उदाहरण दिँदै भनेका छन्, "झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको कांक्रो चोर्दा पक्रिएर दण्डित हुने! अनि पेट भरिएको सुकिलामुकिलाले सबुत नछोडिकन भित्ता फोरेर हिरा चोर्दा प्रमाण नभेटिएर निर्दोष ठहर्ने! हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने?"
उनले अगाडि लेखेका छन्, "देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषधारी गिरोहलाई पहिले नष्ट नगरी सुशासन र समृद्धिको सही शुरूवात हुन्न है!"
पछिल्लो समय सरकारले ठूला भ्रष्टाचार फाइलहरुमा कारबाही अघि बढाउन नसकेको भन्ने आलोचना भइरहेका बेला आएको भट्टराईको यो अभिव्यक्तिलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।