अछामको पञ्चदेवल विनायक नगरपालिकास्थित विद्यामन्दिर नमुना माध्यमिक विद्यालयमा लामो समयदेखि देखिएका विभिन्न शैक्षिक तथा प्रशासनिक समस्याहरूको विरोध गर्दै स्थानीय युवाहरूले विद्यालयमा तालाबन्दी गरेका छन्। विद्यालयको पठनपाठन अस्तव्यस्त बन्दै गएपछि बाध्य भएर तालाबन्दीको कदम चाल्नुपरेको आन्दोलनरत पक्षले जनाएको छ।
विद्यालयमा तालाबन्दी गर्नुका मुख्य कारणहरूमा हालसम्म पनि विद्यालय व्यवस्थापन समिति गठन नहुनु प्रमुख रूपमा रहेको छ। यसका साथै, विद्यालयमा करिब १२ महिना (एक वर्ष) सम्म पनि कम्प्युटर विषयको शिक्षक नभएको र माथिल्लो (माध्यमिक) तहमा समेत अ अंग्रेजी विषयको शिक्षक नरहेको पाइएको छ। आधारभूत तहमा दरबन्दी हुँदाहुँदै पनि राहत शिक्षकको पदमा शिक्षक नियुक्त नगरिनु र विद्यालयमा उपलब्ध भएका शिक्षकहरूले पनि मन लगाएर पठनपाठन नगरेको भन्दै अभिभावक तथा युवाहरूले गम्भीर गुनासो व्यक्त गरेका छन्।
अभिभावक र युवाहरूले यस विद्यालयलाई व्यवस्थित गरी आधुनिक शिक्षा प्रणालीद्वारा चिनाउने उद्देश्य र इच्छाका साथ यो विरोध तथा सुधार कार्यक्रमको आयोजना गरेका हुन्। विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थीहरूको भविष्य सुरक्षित पार्न सम्बन्धित निकायले यी सम्पूर्ण समस्याहरूको तत्काल समाधान गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्। साथै, यस सकारात्मक कार्यमा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूबाट साथ र सहयोगको अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ।