काठमाडौं, असोज ३० – नेपाली क्रिकेटका लागि ऐतिहासिक खुशखबरी! अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणलाई आधिकारिक मान्यता दिएको छ।
नेपाल क्रिकेट संघ (CAN) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ICC बाट औपचारिक स्वीकृति (sanction) प्राप्त भएको घोषणा गरेको हो।
कहिले हुँदैछ NPL सिजन ३?
CAN का अनुसार CAN आफैंले आयोजना तथा व्यवस्थापन गर्ने NPL को तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ।
शुक्रबार आयोजित NPL Media Day मा बोल्दै CAN सचिव पारस खड्काले ICC को इमेल कुरिरहेको बताएका थिए। "म निरन्तर इमेल एप स्क्रोल गरिरहेको छु, ICC मान्यताको पुष्टिको पर्खाइमा छु। छिट्टै निर्णय हुनेछ भन्ने विश्वास छ," उनले भनेका थिए। त्यसको केही समयपछि नै ICC बाट मान्यताको आधिकारिक जानकारी आएको हो।
किन महत्वपूर्ण छ ICC मान्यता?
CAN ले जारी विज्ञप्तिमा ICC को यो आधिकारिक मान्यताले नेपालको घरेलु क्रिकेटको विकास, विस्तार र अन्तर्राष्ट्रिय प्रोफाइल बढाउन महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरेको छ।
यससँगै :
• NPL ले आधिकारिक T20 मान्यता पाएको छ
• विदेशी स्टार खेलाडीहरूको सहभागिता अझ सहज हुने
• लिगको तथ्यांक, रेकर्ड र खेलाडी प्रदर्शनले अन्तर्राष्ट्रिय मान्यता पाउने
• नेपालको क्रिकेट इकोसिस्टमप्रति विश्व क्रिकेटको विश्वास बढ्ने
यसअघि दोस्रो सिजनको सफलता र सुशासनको मूल्यांकनपछि तेस्रो सिजनदेखि पूर्ण संरचनात्मक मान्यता दिने ICC को संकेत थियो, जुन अहिले औपचारिक भएको छ।
CAN ले NPL लाई बृहत्तर मञ्चमा स्थापित गर्न निरन्तर सहयोग, समर्थन र सहकार्यका लागि ICC प्रति कृतज्ञता र आभार व्यक्त गरेको छ।