कमल राज अधिकारी (सुशान्त)
पञ्चदेवल विनायक / अछाम — समाजमा विद्यमान सामाजिक विकृति, विभेद र कुरीतिविरुद्ध जनचेतना फैलाउने उद्देश्यले पञ्चदेवल विनायक नगरपालिकामा जनचेतनामूलक सडक नाटक ‘नौलो बाटो’ प्रदर्शन हुने भएको छ।
जिआईजेट (GIZ) को आर्थिक सहयोग, सामुदायिक विकास केन्द्र (CDC Nepal), डोटी र पञ्चदेवल विनायक नगरपालिकाको समन्वय तथा सहकार्यमा, मण्डला थिएटर नेपाल, काठमाडौंको सहयोगमा ओटालो थिएटर क्लबले उक्त नाटक प्रस्तुत गर्न लागेको हो।
‘समस्या चिनौँ, सोच बदलौँ, व्यवहार बदलौँ’ भन्ने मूल नाराका साथ प्रस्तुत हुन लागेको ‘नौलो बाटो’ ले समाजका वास्तविक र ज्वलन्त मुद्दाहरुलाई कलात्मक रूपमा उजागर गर्नेछ।
नाटकमा विशेषगरी छोरा-छोरीबीचको विभेद, बालविवाह, छाउपडी प्रथा, घरेलु हिंसा, महिला तथा बालबालिकाका अधिकार, सामाजिक विभेद, समानता तथा सामाजिक न्याय र सकारात्मक सोच र व्यवहार परिवर्तन जस्ता विषयलाई मुख्य रूपमा उठाइएको आयोजक ओटालो थिएटर क्लबले जनाएको छ।
आयोजकका अनुसार ‘नौलो बाटो’ केवल मनोरञ्जन मात्र नभई समाजमा रहेका समस्या र त्यसका दीर्घकालीन असरलाई देखाउँदै समानता, सम्मान, अधिकार र सकारात्मक सामाजिक परिवर्तनका लागि नागरिकको सोच तथा व्यवहार परिवर्तन गर्न प्रेरित गर्ने एउटा नाटकीय यात्रा हो।
कार्यक्रम तालिका सार्वजनिक
क्लबले तीन स्थानमा नाटक प्रदर्शन गर्ने तालिका सार्वजनिक गरेको छ।
• पहिलो प्रदर्शन २०८३ असोज १८ गते दिउँसो ३:०० बजे तोलीमा,
• दोस्रो प्रदर्शन असोज १९ गते दिउँसो १:०० बजे कालिकास्थानमा र
• तेस्रो तथा अन्तिम प्रदर्शन असोज २० गते बेलुकी ४:०० बजे पालिका प्राङ्गण, विनायकमा हुनेछ।
आयोजकले सम्पूर्ण नगरवासी, युवा, महिला, विद्यार्थी तथा सरोकारवालालाई नाटक हेरेर समाजका सवाल बुझ्न र चेतनाको बाटो रोज्न आह्वान गरेको छ।