काठमाडौं - नेपाली काङ्ग्रेसभित्र परिवर्तन र रूपान्तरणको सपना बोकेका युवा नेताहरूले धमाधम विकल्पको बाटो रोज्न थालेपछि पार्टी नेतृत्वमाथि नैतिक प्रश्न उठ्न थालेको छ।
लामो समयदेखि नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री तथा पार्टी सभापति गगन थापाको वैचारिक र राजनीतिक यात्रासँग निकट रहेर काङ्ग्रेस राजनीतिमा सक्रिय रहँदै आएका युवा तथा वैचारिक नेता राज देवकोटा (पदमराज देवकोटा) ले नेपाली काङ्ग्रेसको राजनीतिक यात्रामा पूर्णविराम लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
पंचदेवल विनायक नगरपालिका–२, अछाम निवासी देवकोटा काङ्ग्रेसभित्र युवा सोच, वैचारिक स्पष्टता र परिवर्तनको आवाजको रूपमा परिचित थिए। उनले काङ्ग्रेस परित्याग गरी रास्वपाको वैकल्पिक राजनीतिक यात्रामा जोडिने निर्णय गरेका हुन्।
यो केवल एक व्यक्तिको पार्टी प्रवेश मात्र नभई, काङ्ग्रेस नेतृत्वका लागि एउटा गम्भीर राजनीतिक सन्देश भएको टिप्पणी हुन थालेको छ। लामो समयदेखि पार्टीभित्र रहेर सुधारको पक्षमा वकालत गर्दै आएका युवा पंक्तिले नै विकल्प खोज्नुले काङ्ग्रेसको आन्तरिक लोकतन्त्र र युवा व्यवस्थापनमाथि प्रश्न खडा गरेको छ।
निकट स्रोतका अनुसार, देवकोटाको रास्वपामा प्रवेशसँगै उनलाई पार्टीमा वैचारिक र संगठनात्मक जिम्मेवारीमा सक्रिय गराइने अपेक्षा गरिएको छ।
उनको यस नयाँ राजनीतिक यात्राका लागि शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन्।