काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।
शुक्रबार भएको मतदानको मतगणना शनिबार बिहान काठमाडौंको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको हो। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन समितिका अनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गरे भने खड्गीले ३७५ मत मात्र पाए ।
कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो भने ६ हजार ९५९ मत सदर भएको थियो।
यस आधारमा थापाले कुल खसेको मतको ९३.८८ प्रतिशत मत प्राप्त गर्दै शानदार जित हासिल गरेका छन् भने खड्गीले ५.३५ प्रतिशत मत पाएका छन्। दुई उम्मेदवारबीचको मतान्तर ६ हजार २०९ रहेको छ।
महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार मतगणना भर्खरै मात्र सकिएको हो।
३ बाट २ उम्मेदवारमा झरेको प्रतिस्पर्धा
सभापति पदका लागि सुरुमा तीन जनाले उम्मेदवारी दिएका थिए। अन्तिम समयमा किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि थापा र खड्गीबीच मात्र प्रतिस्पर्धा भएको थियो।
थापाको यो जितलाई कांग्रेसको नयाँ पुस्ताको उदयको रूपमा हेरिएको छ। निर्वाचित भएपछि उनले कांग्रेसले गुमाएको १० लाख परम्परागत मतदाता फिर्ता ल्याउनु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्।