काठमाडौं। सुन्दा चलचित्रको कथाजस्तो लाग्ने यो कहानी ललितपुरको लेलेका घिमिरे परिवारको यथार्थ हो। एउटै घरका तीन दाजुभाइ अहिले नेपालका तीनवटै सुरक्षा निकायका उपल्लो पदमा कार्यरत छन्, र परिवारका दुई बुहारी पनि सुरक्षासँगै जोडिएको सेवामा छिन्।
को-को हुन् यो परिवारमा?
जेठा दिलिप घिमिरे नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन् र अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको कमान्ड सम्हालिरहेका छन्। उनी २०५८ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए।
माहिला पवन घिमिरे नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल हुन्। उनी २०५६ मा सेकेन्ड लेफ्टिनेन्टबाट सैनिक सेवामा प्रवेश गरेका थिए।
कान्छा विकास घिमिरे सशस्त्र प्रहरी बलका एसएसपी हुन् र अहिले कुरिनटारस्थित सशस्त्र प्रहरी विपद् तालिम निर्देशनालयका प्रमुख छन्। उनी २०५९ मा सशस्त्र प्रहरी निरीक्षकबाट सेवामा छिरेका थिए।
फौजी विरासत दाजुभाइमा मात्र सीमित छैन। जेठा दिलिपकी श्रीमती वसुन्धरा खड्का नेपाल प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) हुन् र हाल झापा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा छिन्। कान्छा विकासकी श्रीमती डा. समृद्धि बस्नेत सशस्त्र प्रहरी अस्पताल बलम्बुमा चिकित्सकका रूपमा कार्यरत छिन्।
एउटै वर्ष दुई दाजुभाइलाई उत्कृष्टको सम्मान
यो परिवार चर्चामा आउनुको एउटा ठूलो कारण संयोग हो। २०७९ असोजमा जिल्ला प्रहरी कार्यालय इलामको नेतृत्व गरिरहेका बेला दिलिप प्रहरी दिवसका अवसरमा उत्कृष्ट घोषित हुँदै पुरस्कृत भए। ठिक त्यही वर्ष सशस्त्र प्रहरी बलको वार्षिक निरीक्षणका क्रममा दक्षिणकाली गणमा कार्यरत विकास पनि उत्कृष्ट ठहरिए। दुई फरक संगठन, दुई फरक कार्यक्षेत्र, तर उत्कृष्टताको सूचीमा एउटै घरका दुई नाम।
इलामपछि रौतहटको कमान्ड सम्हालेका दिलिप भन्छन्, "हाम्रो परिवार नै देश र जनतामा समर्पित छ, यो सायद सबै परिवारमा हुँदैन, हामी खुसी छौँ। तर फरक जिम्मेवारीका कारण परिवारसँग विरलै भेट हुँदा अलि नरमाइलो लाग्छ।"
हजुरबाले रोपेको बिउ
घिमिरे परिवारको सुरक्षा सेवासँगको नाता आजको होइन। हजुरबा जितबहादुर घिमिरे प्रथम विश्वयुद्धका समयमा नेपाली सेनाका क्याप्टेन थिए। पारिवारिक विवरणअनुसार अंग्रेजको पक्षबाट लड्न बर्मा गएको नेपाली फौजको नेतृत्व उनले गरेका थिए। हजुरबाले बाल्नुभएको देशभक्तिको त्यही ज्वाला नाति पुस्तासम्म आइपुग्दा झन् उज्यालो बनेको छ।
"पारिवारिक पृष्ठभूमिले हामीलाई सुरक्षा सेवामा पुर्याएको हो," एसएसपी विकास भन्छन्, "पहिला जेठो दाइ दिलिप प्रहरीमा भर्ना हुनुभयो, माइलो दाइ सेनामा सेकेन्ड लेफ्टिनेन्टमा र पछि म सशस्त्र प्रहरीमा इन्स्पेक्टरमा भर्ना भएँ।"
खुसी साट्न बाबुआमा छैनन्
सफलतासँगै पीडा पनि छ। फरक-फरक जिल्ला र जिम्मेवारीमा खटिनुपर्दा चाडबाडमा समेत घर भेला हुन गाह्रो छ। विकास सम्झन्छन्, कहिलेकाहीँ ६ महिनासम्म श्रीमती समृद्धिसँग भेट नै हुँदैन।
त्योभन्दा ठूलो पीडा अर्कै छ। बाबुआमाले दुःखले हुर्काएका छोराहरू आज सफलताको शिखरमा छन्, तर खुसी साट्ने बेला बाबुआमा नै साथमा छैनन्। "सुख पाउने र खुसी साट्ने बेला आज हामीसँग बाबुआमा हुनुहुन्न," विकास भन्छन्, "परिवारको मियो नै नहुँदा कहिलेकाहीँ नरमाइलो लाग्छ, खासगरी चाडबाडमा।"
तर सिङ्गो परिवार नै देश र जनताको जिउधनको रक्षामा यसरी समर्पित हुनु घिमिरे परिवारका लागि मात्र नभई सम्पूर्ण राष्ट्रकै लागि गर्विलो र अनौठो इतिहास बनेको छ।