● ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

विराज-समीरको ‘१२ गाउँ-२’ फ्लप, भारतीय धङधङीका एक्सन नेपालमा अस्वीकृत

• October 24, 2026
काठमाडौं । नेपाली चलचित्र उद्योगमा एक्सन स्टारको रूपमा परिचित विराज भट्ट र उनका छोरा समीर भट्ट अभिनीत बहुप्रतीक्षित चलचित्र ‘१२ गाउँ २’ बक्स अफिसमा नराम्ररी पछारिएको छ। रिलिजअघि सामाजिक सञ्जाल र दर्शकमाझ ठूलो हाइप बनाएको यो चलचित्रले हलमा निराशाजनक व्यापार गरेको छ।
प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गर्दा नै चलचित्रका शोहरू देशभरका हलमा ह्वात्तै घटेर न्यून संख्यामा खुम्चिएका छन्। दर्शकको खडेरी लागेपछि मल्टिप्लेक्सहरूले यसका शोहरूमा भारी कटौती गरेका हुन्। सप्ताहान्तपछि अधिकांश हल दयाहाङ राईको ‘कबड्डी ५’ ले कब्जा गरेको छ।

पहिलो हप्तामै २ करोड पनि उठेन

कमजोर पटकथा र फितलो कथावस्तुका कारण माउथ पब्लिसिटी नकारात्मक हुँदा ‘१२ गाउँ २’ को व्यापारिक पतन भएको चलचित्र पण्डितहरूको विश्लेषण छ। पहिलो हप्तामा चलचित्रले २ करोड रुपैयाँसमेत ग्रस कलेक्सन गर्न सकेन। दोस्रो हप्तामा शोहरू नगण्य (२०-३०) मा सीमित भएकाले व्यापारिक आँकडामा उल्लेख्य वृद्धि हुने सम्भावना छैन।

चलचित्रमा २ करोडभन्दा बढी शुद्ध लगानी (विराज र समीरको पारिश्रमिक बाहेक) भएको देखिन्छ। यो लगानी हलबाट उठाउन ६ करोडभन्दा बढी ग्रस कलेक्सन गर्नुपर्छ, जसको कुनै गुञ्जायस रहेन। ‘ओभरसिज र डिजिटल राइट्सबाट अलिकति भरथेग हुनसक्छ, तर फिल्म डिजास्टर नै भयो,’ एक सिने पत्रकार भन्छन्।

दुई वर्षअघि प्रदर्शनमा आएको ‘१२ गाउँ’ (२०८१) ले बक्स अफिसमा इतिहास रचेको थियो। यसको लाइफटाइम कलेक्सन २५ करोड रुपैयाँभन्दा बढी छ। यो नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने ब्लकबस्टर चलचित्रहरूमध्ये एक बन्न सफल भएको थियो। तर, सोही ब्रान्ड नेमको फाइदा उठाउन खोजेको सिक्वेल ‘१२ गाउँ २’ ले भने बक्स अफिसमा छाती पिटेर रुनुपरेको छ।

समीर भट्टको स्टारडममा धक्का

‘१२ गाउँ २’ को व्यावसायिक असफलताले सबैभन्दा ठूलो चोट युवा अभिनेता समीर भट्टलाई लाग्नेछ। उनको करियर र स्टारडमका लागि यो चलचित्र हिट हुनु अति आवश्यक थियो। डेब्यु चलचित्र ‘१२ गाउँ’ को ब्लकबस्टर सफलतापछि समीरले एकाएक सुपरस्टारको छवि बनाएका थिए। उनलाई सिधै अनमोल केसीको प्रतिस्पर्धीका रूपमा हेर्न थालियो। तर गत वर्ष रिलिज भएको उनको दोस्रो चलचित्र ‘बलिदान’ अपेक्षित चलेन। ‘ब्याक टु ब्याक’ दुई फिल्म बक्स अफिसमा चिप्लिँदा समीर नराम्ररी घाइते बनेका छन्।

केवल एक्सन, सुगठित शरीर र साउथ शैलीको गर्जनकै भरमा मात्र लामो समय स्टारडम जोगाउन सकिँदैन र नेपाली दर्शकलाई हलसम्म तान्न बलियो मौलिक कथा नै चाहिन्छ भन्ने तितो पाठ समीरका लागि यी दुई चलचित्र बनेका छन्।

एक्सन दोहोरियो, कथा रित्तियो

समीक्षकहरूका अनुसार ‘१२ गाउँ-२’ ले एक्सन दृश्यमा प्रभाव छाडे पनि कमजोर कथा, असंगत पात्र र अधुरो उद्देश्यका कारण अघिल्लो शृङ्खलाको सीमाबाट बाहिरिन सकेको छैन। विराज र समीरको बनावटी अभिनय तथा मौलिकताको अभावले एक्सनबाहेक फिल्ममा सम्झनलायक पक्ष नरहेको निष्कर्ष निकालिएको छ।

फिल्ममा दुई प्रोटागोनिस्ट अजय (समीर) र अर्जुन (विराज) को कथा आपसमा कनेक्ट नै हुँदैन। उनीहरू किन भिलेनलाई समाप्त पार्न चाहन्छन् भन्ने कौतुहल दर्शकमा जन्माउनै फिल्म असफल छ। अजय र अर्जुनका कथा दुई अलग फिल्मजस्ता लाग्छन्, जुन दुई हिरोलाई बराबर स्पेस दिन गरिएको भागबन्डाजस्तो मात्र देखिन्छ।

त्यस्तै, फिल्मले महिलालाई निरीह र पुरुष नायकमा निर्भर देखाउने पुरानै भाष्य दोहोर्याएको, र खलपात्रको चरित्रचित्रणमा मुस्लिम समुदायप्रति गलत भाष्य सिर्जना गर्न सक्ने गरी संवेदनहीन बनेको भन्दै पनि आलोचना भएको छ।

साउथ धङधङीका एक्सन अस्वीकृत

‘१२ गाउँ २’ को यो हविगत देखेपछि चलचित्र वृत्तमा गम्भीर बहस सुरु भएको छ, के नेपालमा अब एक्सन चलचित्रका दिन सकिएकै हुन् त? यसअघि रिलिज भएको अर्को प्रतीक्षित एक्सन चलचित्र ‘आचार्य’ पनि व्यापारिक रूपमा डुबेको थियो। ठूला एक्सन चलचित्रहरू लगातार फ्लप हुनुले नेपाली दर्शकको रुचि परिवर्तन भएको स्पष्ट संकेत गर्छ।

नेपालमा अर्ग्यानिक चलचित्रको ट्रेन्डबीच निखिल उप्रेती र विराज भट्टले दक्षिण भारतीय शैलीका कथाविहीन हावादारी एक्सन भित्र्याउन खोजेका थिए। तर दर्शकले यसलाई सिधै खारेज गरिदिएका छन्। विदेशी शैलीको सस्तो नक्कल अब नेपाली हलमा बिक्न छाडेको समीक्षकहरू बताउँछन्।

यसको विपरीत, नेपाली माटो, मौलिक कथा र आफ्नै समाजको कथा भन्ने अर्ग्यानिक चलचित्रहरूलाई भने दर्शकले अगाध माया दिएका छन्। यसको गतिलो उदाहरण ‘कबड्डी ५’ हो, जसले मौलिकता र सामाजिक विषयवस्तुकै बलमा बक्स अफिसमा दर्शकको उभार ल्याइरहेको छ। पछिल्लो समय ‘पूर्णबहादुरको सारंगी’ देखि ‘परान’ र ‘गौथली’ जस्ता चलचित्रहरूको सफलताले नेपाली दर्शक आफ्नै गाउँ-समाजका कथा र पात्रहरू हेर्न चाहन्छन् भन्ने स्पष्ट पारेको छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »