साँफेबगर, अछाम — सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का तोड्दै सडक डिभिजन कार्यालय साँफेबगरले ३८ करोड बढी रकम असुल गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
सडक डिभिजन साँफेबगरले २०८३/०७/११ मा प्रकाशित सूचना अनुसार ठेक्का नं. RDSNF/337011764/078-79-26 अन्तर्गत मंगलसेन–सुवाखण्ड–खेतगैरे–जुलुमारे–ढकारी सडकखण्डमा रोडवे कटिङ तथा स्ट्रक्चरल वर्क्स का लागि श्री कश्यप निर्माण सेवा एण्ड सप्लायर्स, कलंकी काठमाडौंसँग २०७९/०१/१६ मा सम्झौता भएको थियो।
सम्झौता र प्रगति:
१० किलोमिटर लम्बाइको यस सडकका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान रहेकोमा २०८२ वैशाख १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर पटक-पटक ताकेता गर्दा पनि कामले गति नलिएपछि २०८३/०३/१५ मा ठेक्का अन्त्य गरिएको हो। ठेक्का तोड्दासम्म भौतिक प्रगति जम्मा १९.८३ प्रतिशत मात्र पुगेको थियो।
३८.२३ करोड किन तिर्नुपर्ने?
ठेक्का अन्त्यपछि बाँकी कार्य सम्पन्न गर्न लाग्ने लागत र त्रुटिपूर्ण कार्य सच्याउन लाग्ने लागत समेत गरी रू. ३८,२३,९६,४९३.७२ (भ्याट सहित) सरकारी बाँकी सरह असुल गर्नुपर्ने रकम कायम भएको सूचनामा उल्लेख छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ९०(५) बमोजिम उक्त रकम सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राजस्व खाता नं. १०००१००२०००१०००० (Revenue FCGO TSA), राष्ट्रिय वाणिज्य बैंकमा दाखिला गर्न भनिएको छ।
तोकिएको अवधिभित्र रकम नबुझाए ऐनको दफा ४७(३) बमोजिम सरकारी बाँकी सरह असुल उपर गर्न कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत पठाइने चेतावनी दिइएको छ।
पृष्ठभूमि:
यो ठेक्कासँगै सडक डिभिजन साँफेबगरले लामो समयदेखि अलपत्र परेका ६ वटा रुग्ण ठेक्का एकैपटक अन्त्य गरेको छ। अन्त्य गरिएका अन्य योजनामा साँफे–मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक रहेका छन्।
उल्लेख्य के छ भने कश्यप निर्माण सेवा एण्ड सप्लायर्स यसअघि नै सार्वजनिक खरिद अनुगमन कार्यालयको कारबाहीमा परेको कम्पनी हो। कार्यालयको सूचनाअनुसार माधव घिमिरे र हरिप्रसाद घिमिरे सञ्चालक रहेको उक्त कम्पनीलाई यसअघि २ वर्षका लागि कालोसूचीमा राखिएको थियो।