जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका-८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
प्र.०१-००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीका अनुसार दुर्घटनामा अटोमा सवार पाँच जनामध्ये दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका-१२ का ५५ वर्षीय रमेश विक र नलगाड नगरपालिका-९ घरङ्गाका १७ वर्षीय सन्तोष विक रहेका छन् ।
दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । दशैंको समयमा भएको यस दुखद घटनाले नलगाड क्षेत्र शोकमा डुबेको छ ।