अछाम, १६ असोज २०८३ -
जिल्ला प्रशासन कार्यालय अछामको नेतृत्वमा आज मंगलसेन बजारमा बजार अनुगमन कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय, मंगलसेन अछामका सहायक प्रमुख जिल्ला अधिकारी श्री दिपेन्द्र सिंह बिष्टको नेतृत्वमा, जिल्ला प्रहरी कार्यालय मंगलसेन अछामका प्रहरी निरीक्षक दिनेश प्रसाद रिमाल र घरेलु तथा साना उद्योग कार्यालय मंगलसेन अछामका कर्मचारीहरु सम्मिलित संयुक्त टोलीले हिजो अन्दाजी बिहान ११:०० बजे मंगलसेन नगरपालिका वडा नं. ०५ स्थित मंगलसेन बजारमा अनुगमन गरेको हो।
अनुगमनको क्रममा टोलीले बजारका विभिन्न किराना पसल, होटल तथा खाद्यान्न पसलहरुको अनुगमन गर्दै पसलहरुमा देखिएका कमीकमजोरीहरु औंल्याएको थियो। व्यवसायीहरुलाई म्याद नाघेका खाद्यान्न वस्तु तथा पेय पदार्थ विक्री वितरण नगर्न र सबै पसलहरुमा अनिवार्य रुपमा मूल्य सूची राख्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
अनुगमनका क्रममा बरामद गरिएका म्याद गुज्रिएका खाद्य सामग्री तथा पेय पदार्थहरु सोही दिन दिउँसो ४:०० बजे जिल्ला प्रशासन कार्यालय अछामको परिसर भित्र नष्ट गरिएको छ।
चाडपर्व नजिकिएसँगै उपभोक्ता ठगिनबाट जोगाउन र बजारलाई स्वच्छ र व्यवस्थित बनाउन यस्तो अनुगमनलाई निरन्तरता दिइने सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताउनुभयो।