काठमाडौं - गोरखाको बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धारमा नेपाली सेनाले ठूलो सफलता हात पारेको छ। 🙏
नेपाली सेनाका अनुसार सोमबार (असोज २६ गते) मात्रै हवाई तथा स्थलमार्गबाट ३२१ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ।
उद्धारका लागि सेनाका एमआई-१७ सहित ४ वटा हेलिकप्टर र स्थलमार्गबाट फौज परिचालन गरिएको थियो।
यस्तै, प्रभावित क्षेत्रका लागि सेनाले ६ हजार १७० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरेको जनाएको छ।
आइतबार बिहान हिमपहिरो र गेग्रानले नदी थुनिएर खुल्दा आएको लेदोसहितको बाढीले आरुघाट बजार, पुल, घर र साहस ऊर्जा लगायतका जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको थियो। बाढीमा परी ५ जना बेपत्ता भएको विवरण पनि सार्वजनिक भएको छ।
हाल ४३७ जना सुरक्षाकर्मी उद्धार तथा राहतमा खटिएका छन् भने बाढीको कारण पत्ता लगाउन ड्रोनसहित भूगर्भविद्को टोली समेत परिचालन गरिएको छ।