काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले नेपाल प्रिमियर लिग (एनपीएल) लाई असफल बनाउने नियत राखेको आरोप लगाएका छन् । प्रतियोगिता सुरु हुने पूर्वसन्ध्यामा पीसीबीले देखाएको असहयोगी रवैयाप्रति कडा असन्तुष्टि जनाउँदै उनले भने, "हामी चुप बस्दैनौँ, सम्बन्धित ठाउँमा बोल्छौँ ।"
नेपाल प्रेससँगको कुराकानीमा अध्यक्ष चन्दले पीसीबीले आफूहरूलाई "गलत व्यवहार" गरेको बताए । उनका अनुसार एनओसी लिएर खेलाडीहरू नेपाल आइसकेपछि पीसीबीले प्रतिखेलाडी २५ हजार अमेरिकी डलर अतिरिक्त रकम मागेको छ, जुन "सरासर गलत" हो ।
"एनओसी लिएर खेलाडी आइसकेपछि सर्त तेर्स्याउनु र पैसा माग्नु सरासर गलत हो । यसबारेमा हामी सम्बन्धित ठाउँमा कुरा उठाउँछौँ," चन्दले भने, "फेरि हाम्रोजस्तो इमर्जिङ कन्ट्रीसित एउटा बलियो टेस्ट प्लेइङ कन्ट्रीले पैसा माग्नु लाजमर्दो हो ।"
संवादको प्रयास नै बेवास्ता
अध्यक्ष चन्दले पीसीबी नेतृत्वसँग प्रत्यक्ष संवादको प्रयास गर्दा समेत बेवास्ता गरिएको गुनासो गरे । पीसीबी अध्यक्ष मोहसिन नकवीसँग कुरा गर्न खोज्दा उनका सल्लाहकार सीईओ सलमान नासिरलाई दशपटकसम्म फोन र ह्वाट्सएप मेसेज गर्दा पनि कुनै रेस्पोन्स नआएको उनले बताए ।
"मैले पीसीबीको अध्यक्षसित कुरा गर्न खोजेको हो । उनको सल्लाहकारलाई पटक पटक फोन र म्यासेज गर्दा पनि कुनै रेस्पोन्स भएन," उनले भने । इमेलमार्फत भने एनपीएल कमिटी, विनोद दास र पारस खड्काले पत्राचार गरिरहेको तर पीसीबी २५ हजार डलरको अडानबाट पछि नहटेको उनले जानकारी दिए ।
अनलाइनखबरसँगको कुराकानीमा पनि चन्दले पीसीबीले फ्रेन्चाइज सम्भावना भएका लिगहरूलाई कमजोर पार्ने कदम चालेको टिप्पणी गरेका थिए । "यो गलत नजिर हो," उनले भनेका थिए ।
आईसीसी र एसीसीमा कुरा उठाउने संकेत
पीसीबी अध्यक्ष नकवी एसियाली क्रिकेट परिषद् (एसीसी) का पनि अध्यक्ष रहेकाले उनबाट सहयोगको अपेक्षा गरिएको भए पनि उल्टो असहयोग भएको चन्दको भनाइ छ । "उहाँले त हाम्रोजस्तो एसोसिएट देशमा कसरी क्रिकेटमा बढावा दिने, संरक्षण गर्ने भनेर सोच्नुपर्ने थियो । सहयोग गर्नुपर्ने थियो । तर उल्टो असहयोग गरिराख्नुभएको छ," उनले भने ।
यो गम्भीर विषय भएकाले आईसीसीसम्म कुरा उठाउने संकेत उनले गरेका छन् ।
पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा
पीसीबीले एनओसी नदिँदा एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको क्यानले जनाएको छ ।
कर्णाली याक्स, जनकपुर बोल्ट्स र चितवन राइनोजले पाकिस्तानी खेलाडी अनुबन्ध गरेका थिए । कर्णालीका साहिबजादा फरहान स्वदेश फर्किसकेका छन् भने हुसेन तलत, इफ्तिखार अहमद, हुनैन शाह, उसामा मिर, हसन अली र मोहम्मद नवाजको खेल्ने टुंगो छैन । यसले फ्रेन्चाइज टिमहरूलाई चार विदेशी खेलाडीको कोटा पूरा गर्न कठिन भएको छ ।