काठमाडौं, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब सिमकार्ड लिन कार्यालय धाउनु नपर्ने भएको छ । नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा आज (बुधबार) देखि हुलाकमार्फत ग्राहकको रोजेको ठेगानामै सिमकार्ड पुर्याउने सेवा सुरु गरिएको हो ।
हुलाक सेवा विभागमा आयोजित कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले सेवाको शुभारम्भ गरेका हुन् । मन्त्री तिमल्सिनाले स्वयं हुलाक सेवामार्फत सिमकार्ड ग्रहण गर्दै सेवाको सुरुआत गरेका थिए ।
कसरी मगाउने?
नेपाल टेलिकमका अनुसार ग्राहकले अनलाइन पोर्टल यहाँ मार्फत "Postal SIM" का लागि आवेदन दिन सक्नेछन् ।
प्रक्रिया यस्तो छ:
आवेदन: पोर्टलमा गएर नाम, जन्ममिति, ठेगाना र नजिकको ल्यान्डमार्कसहित व्यक्तिगत विवरण भर्ने
कागजात अपलोड: प्रोफाइल फोटो र नागरिकता वा राहदानीको अगाडि-पछाडिको स्पष्ट फोटो अपलोड गर्ने
छनोट: आफूलाई पायक पर्ने नेपाल टेलिकम काउन्टर छनोट गरी फर्म बुझाउने
भेरिफिकेसन: टेलिकमले कागजात जाँच गरी SMS मार्फत स्वीकृत/अस्वीकृतको जानकारी दिने
भुक्तानी: आवेदन स्वीकृत भएपछि अनलाइन भुक्तानी गर्ने
भुक्तानी बैंकिङ एप, डिजिटल वालेट वा नेपालपे QR मार्फत गर्न सकिनेछ ।
शुल्क कति?
सिमकार्ड शुल्क: रु. ९०
हुलाक डेलिभरी शुल्क: रु. ७०
जम्मा: रु. १६०
भुक्तानीपछि SMS र इमेलमार्फत डेलिभरी कन्फर्मेसन र एक्टिभेसन कोड पाइनेछ । हुलाक कर्मचारीले घरमै सिम पुर्याउनेछन्, जहाँ सेवाग्राहीले आफ्नो मोबाइल नम्बर र आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ । सिम प्राप्त भएपछि अनलाइन पोर्टलबाट वा नयाँ सिमबाट *1414# डायल गरी एक्टिभेसन कोड राखेर सिम सक्रिय गर्न सकिनेछ ।
किन महत्वपूर्ण?
यो सेवा आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा घोषणा गरिएको योजनाअनुसार ल्याइएको हो । गत साउन १ गतेदेखि यसको औपचारिक काम थालिएकोमा असोज २८ देखि डेलिभरी सुरु भएको टेलिकमले जनाएको छ ।
सिमकार्डसँगै टेलिकमका अन्य कागजात, पत्र र सेवाहरू पनि हुलाकमार्फत नै वितरण गरिनेछ ।
सेवा शुभारम्भ गर्दै मन्त्री तिमल्सिनाले हुलाकको देशव्यापी सञ्जालको अधिकतम उपयोग गरी तोकिएको समयभन्दा अगावै सिम पुर्याउन निर्देशन दिए । उनले भने, ‘भोलिका दिनमा एक-दुई दिनमा नभई केही घण्टामै डेलिभरी गर्न सक्ने गरी क्षमता अभिवृद्धि गर्नुपर्छ ।’
सरकारी स्वामित्वका दुई निकायबीचको यस सहकार्यले विशेषगरी ग्रामीण क्षेत्रका ग्राहकलाई सहज हुने र हुलाक सेवाको उपयोगिता पनि बढ्ने अपेक्षा गरिएको छ ।