पञ्चदेवल विनायक, अछाम – "विनोद स्मृतिलाई जीवन्त राखौं, खेलकुदको माध्यमबाट भ्रातृत्व फैलाऔं" भन्ने मूल नाराका साथ अछामको पञ्चदेवल क्याम्पसको मैदानमा आजदेखि खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ।
विनोद स्मृति प्रतिष्ठान, पञ्चदेवल विनायक नगरपालिका–४ को आयोजनामा आज कार्तिक १८ गतेदेखि २१ गतेसम्म "खेलकुद महासंग्राम २०८३ : प्रथम विनोद स्मृति भलिबल कप" पञ्चदेवल क्याम्पस मैदानमा सञ्चालन हुनेछ।
आज हुने भव्य उद्घाटन समारोहका प्रमुख अतिथि नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक मा. ऐनबहादुर महर रहनुहुनेछ।
आजको मुख्य आकर्षण पञ्चदेवल क्याम्पस मैदानमा:
उद्घाटन समारोहमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार रेखा जोशी, जनक कार्की, यशोदा देवकोटा, सज्जन धामी र स्थानीय स्टार जनक साउद (माग्ने बुढो) को बेजोड सांस्कृतिक प्रस्तुति, स्थानीय बाजागाजा र हजारौं दर्शकको भव्य उपस्थिति रहनेछ।
आयोजकले पञ्चदेवल क्याम्पसको मैदानमा जारी रहने चार दिने महासंग्राममा सम्पूर्ण खेलप्रेमीलाई उपस्थित भइदिन हार्दिक अपिल गरेको छ।