काठमाडौं । अनलाइन ठगीमा परेपछि महिनौँसम्म प्रहरी र बैंक धाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ । नेपाल प्रहरीले ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (Integrated Anti-Cyber Scam Center)’ सञ्चालनमा ल्याएको छ । केन्द्रले शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो ।
प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा केन्द्रको उद्घाटन गरी सेवा सञ्चालनमा ल्याइएको हो । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार २०८३ असोज २३ गते स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्यसञ्चालनसम्बन्धी दिग्दर्शन, २०८३’ बमोजिम केन्द्र स्थापना गरिएको हो ।
केन्द्र नेपाल प्रहरीको साइबर ब्युरोको नयाँ भवन, सामाखुसी, काठमाडौंमा रहेको छ । यो केन्द्र साइबर ब्युरो मातहत नै सञ्चालन हुनेछ ।
१२४७ के हो ?
तपाईं ठगीमा परेको थाहा पाउनासाथ तुरुन्त १२४७ मा फोन गर्नुपर्छ । केन्द्रले साइबर ठगीसम्बन्धी उजुरी तथा सूचना २४ सै घण्टा प्राप्त गर्ने व्यवस्था मिलाएको छ । यसका लागि १२४७ आकस्मिक फोन नम्बर सञ्चालनमा ल्याइएको छ ।
पहिले एउटा उजुरीका लागि प्रहरीलाई पत्राचार गर्न महिनौँ लाग्थ्यो । अब सबै निकाय एउटै छानामुनि भएकाले पैसा गायब हुनुअघि नै रोक्न सकिन्छ ।
१० मिनेटमा उजुरी, ६० मिनेटमा पैसा फ्रिज
यो केन्द्रको सबैभन्दा ठूलो विशेषता नै समय सीमा हो ।
पहिलो १० मिनेट भित्र : हटलाइन, नागरिक एप, नेपाल प्रहरी एप, अनलाइन पोर्टल वा अन्य माध्यमबाट आएको उजुरी केस म्यानेजमेन्ट सिस्टममा दर्ता हुन्छ । रेफरेन्स नम्बर दिइन्छ र ठगीको प्रकृति अनुसार वर्गीकरण गरिन्छ ।
१० देखि ३० मिनेट भित्र : बैंक, वालेट, पेमेन्ट सेवा प्रदायकका प्रतिनिधिले पैसा गएको खाता वा वालेट, कारोबारको समय र पैसाको ट्रेल पत्ता लगाउँछन् ।
१० देखि ६० मिनेट भित्र : सम्बन्धित बैंक वा वालेटलाई खाता र रकम फ्रिज गर्न एकैसाथ अनुरोध पठाइन्छ । पैसा अर्को खातामा सारिएको भए ट्रेल पछ्याउँदै त्यहाँ पनि फ्रिज गरिन्छ ।
त्यही ६० मिनेटमा : ठगीमा प्रयोग भएको मोबाइल नम्बर र सिम बन्द गर्ने, फिसिङ डोमेन र आईपी एड्रेस ब्लक गर्ने काम पनि सुरु हुन्छ ।
को को छन् एकै ठाउँमा ?
केन्द्रमा नियामक निकाय, प्रहरी, बैंक, विद्युतीय भुक्तानी सेवा प्रदायक, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरु एउटै भौतिक कक्षमा बसेर एकीकृत रुपमा काम गर्नेछन् ।
मुख्य साझेदारमा नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्राधिकरण रहेका छन् । त्यस्तै बैंक, पेमेन्ट सर्भिस प्रोभाइडर, पेमेन्ट सिस्टम अपरेटर, नेपाल टेलिकम (NTC), एनसेल (Ncell) र इन्टरनेट सेवा प्रदायक (ISPs) पनि केन्द्रमा जोडिएका छन् ।
केन्द्रमा ३ सिफ्टमा काम गर्न कुल ११४ जना जनशक्ति खटिनेछन् । जसमा नेपाल प्रहरीका ३३ जना, २० वटा ‘क’ वर्गका वाणिज्य बैंकका ६० जना प्रतिनिधि, नेपाल टेलिकम र एनसेलका ६ जना, राष्ट्र बैंक, आईएसपी संघ र विकास बैंक संघका ३ / ३ जना र ईसेवा र खल्तीका ६ जना रहनेछन् ।
कस्ता कस्ता ठगीमा उजुरी दिन मिल्छ ?
केन्द्रले अनलाइन लगानी ठगी, जागिरको प्रलोभनमा ठगी, रोमान्स स्क्याम, अनलाइन किनबेच ठगी, डिजिटल अरेस्ट र ब्ल्याकमेल, क्यूआर कोड र डिजिटल वालेट ठगी, फिसिङ, स्मिसिङ, भिसिङ, क्रिप्टोकरेन्सी ठगी, सिम स्वापिङ, सामाजिक सञ्जालमार्फत ठगी, नक्कली लट्री र गिफ्ट पार्सल, अनलाइन बेटिङ ठगी लगायतका सबै अनलाइन आर्थिक ठगीका उजुरी हेर्नेछ ।
ठगीमा परे के गर्ने ?
१. नआत्तिनुहोस्, तुरुन्त १२४७ मा कल गर्नुहोस् । पैसा गएको केही मिनेटभित्र खबर गरे सबैभन्दा छिटो फ्रिज हुन्छ । ढिला गरे ठगले पैसा निकालिसक्छ ।
२. ठगको नम्बर, नाम, प्रोफाइलको स्क्रिनसट, कति पैसा, कुन खाता वा वालेटबाट कुन खातामा गयो, कारोबारको मिति, समय, ट्रान्जेक्सन आईडी, च्याट, एसएमएस, लिंक, कल रेकर्ड जस्ता प्रमाण तयार राख्नुहोस् ।
३. ओटीपी, पिन, पासवर्ड कसैलाई नदिनुहोस् । प्रहरी, बैंक, राष्ट्र बैंकले कहिल्यै ओटीपी माग्दैन । माग्ने बित्तिकै त्यो ठग हो भन्ने बुझ्नुहोस् ।
४. पैसा फिर्ता गराइदिन्छु भन्दै शुल्क माग्नेलाई विश्वास नगर्नुहोस् । त्यो अर्को ठगी हो ।
५. १२४७ मा फोन गर्नुका साथै आफ्नो बैंकको कस्टमर केयरमा पनि खाता रोक्का गर्न भन्नुहोस् ।
केन्द्रले पैसा सिधै तपाईंको खातामा फिर्ता गर्दैन । प्रमाण संकलन गरेर अनुसन्धान इकाईमा पठाउँछ र अदालतको आदेश अनुसार पैसा फिर्ता गर्ने प्रक्रिया समन्वय गर्छ । निर्दोष व्यक्तिको खाता गल्तीले फ्रिज भएको भए फुकुवा गर्ने व्यवस्था पनि दिग्दर्शनमा छ ।