● ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

खलासी हुँदै चालक बनेका प्रेम बुढामगर बने शाखा अधिकृत, सुत्केरी श्रीमतीको त्यागले साकार भयो सपना

• November 09, 2026
जाजरकोट: कुनै समय अरूको गाडीमा सहचालकका रूपमा जीवनको यात्रा सुरु गरेका जाजरकोटका प्रेम बुढामगर आज नेपाल सरकारको शाखा अधिकृत बनेका छन्। जीवनमा भोगेका अभाव, अपमान, संघर्ष र चुनौतीलाई सफलताको खुड्किलो बनाउँदै उनले आफ्नो सपना साकार पारेका हुन्।
बुढामगरको सफलताको कथा केवल सरकारी सेवामा प्रवेश गरेको उपलब्धिमा मात्र सीमित छैन। यो निरन्तर संघर्ष, आत्मविश्वास र दृढ इच्छाशक्तिको एउटा प्रेरणादायी उदाहरण पनि हो।

उनले जीवनको सुरुवात सहचालकका रूपमा गरेका थिए। त्यतिबेला अगाडिबाट ‘कान्छो’ भनेर सम्बोधन गरिए पनि पछाडिबाट ‘खलासी’ भन्दा मन दुख्ने गरेको उनी सम्झन्छन्।

समयक्रमसँगै उनी चालक बने। करिब साढे ६ वर्ष गाडी चलाउँदा पनि अगाडिबाट ‘गुरुजी’ भनिए पनि पछाडिबाट ‘ड्राइभर’ भनेर हेप्ने प्रवृत्तिले उनलाई पीडा दिने गरेको थियो।

तर, उनले ती शब्दलाई आफ्नो भविष्यको सीमा बन्न दिएनन्। बरु आफूलाई प्रमाणित गर्ने अठोटका साथ संघर्षको बाटो रोजे। परिस्थितिसँग हार नमानी अध्ययन र तयारीलाई निरन्तरता दिए। अन्ततः त्यही संघर्षले उनलाई नेपाल सरकारको शाखा अधिकृत पदसम्म पुर्‍याएको छ।

सफलतामा श्रीमतीको ठूलो त्याग

उनको सफलताको यात्रामा परिवारको साथ र त्याग पनि उत्तिकै महत्त्वपूर्ण छ। विशेषगरी परीक्षाको तयारीका बेला उनकी जीवनसाथी एक महिनाकी सुत्केरी थिइन्। आफ्नो स्वास्थ्य, शारीरिक पीडा र नवजात शिशुको हेरचाहको कठिन जिम्मेवारीका बीच पनि उनले श्रीमान्को सपनालाई प्राथमिकतामा राख्दै निरन्तर साथ र हौसला दिइरहिन्।

बुढामगरले आफ्नो सफलताको ठूलो हिस्सा जीवनसाथीको त्यही त्याग र समर्पणलाई दिएका छन्। उनका अनुसार यो सफलता व्यक्तिगत मेहनतको उपलब्धि मात्र नभई जीवनसाथीको विश्वास, परिवारको त्याग र सामूहिक सपनाको परिणाम हो।

आमा, स्वर्गीय बुबाको आशीर्वाद, परिवारको माया र शुभचिन्तकहरूको साथलाई आफ्नो सफलताको आधार मान्ने बुढामगर अब राष्ट्रसेवामा इमानदारी, निष्ठा र समर्पणका साथ जिम्मेवारी निर्वाह गर्ने बताउँछन्।

सामाजिक परिवेशमा कामको प्रकृति र पेसाका आधारमा मानिसलाई हेर्ने दृष्टिकोण अझै बदलिन नसकेको अवस्थामा बुढामगरको यात्राले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ — मानिसको पहिचान उसले विगतमा गरेको कामले होइन, उसले देखेको सपना र त्यसलाई पूरा गर्न गरेको संघर्षले निर्धारण गर्छ।

हिजो सहचालक र चालकका रूपमा चिनिएका प्रेम आज शाखा अधिकृत बनेका छन्। उनको यो सफलताले कुनै पनि काम सानो हुँदैन र कुनै पनि सपना ठूलो हुँदैन भन्ने सन्देश दिएको छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »