काठमाडौं - सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ ।
बुधबार अकस्मात् बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपी पदबाट हटाउँदै अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारले कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। एक मन्त्रीका अनुसार बुधबारको बैठकले कार्कीलाई हटाएर एआईजी केसीलाई नयाँ जिम्मेवारी दिने निर्णय गरेको हो भनेर कान्तिपुरलाई जानकारी दिएका छन्।
१ वर्षमै हटाइए कार्की:
कार्की २०८२ कात्तिक २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आईजीपीमा पदोन्नति भएका थिए र उनले २०८२ कात्तिक २७ गतेदेखि कार्यभार सम्हालेका थिए।
उनको कार्यकाल विवादरहित रहेन। गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि नियुक्त भएका निर्वाचन प्रहरीको पोशाक खरिद र पत्रकार पक्राउ प्रकरणमा उनी विवादमा तानिएका थिए। साथै सरकारको म्यान्डेट अनुसार काम गर्न नसकेको आरोप समेत लाग्दै आएको थियो।
को हुन् नयाँ आईजीपी मनोज केसी?
नवनियुक्त आईजीपी डा. मनोजकुमार केसी यसअघि अतिरिक्त महानिरीक्षक (एआईजी) को रूपमा कार्यरत थिए। उनी कार्कीकै ब्याची समेत हुन्। पछिल्लो समय प्रहरी हेडक्वार्टरमा भएको आन्तरिक बैठकमै आईजीपी कार्की र एआईजी केसीबीच खटपट परेको समाचारहरू बाहिरिएका थिए।